१८ मंसिर, काठमाडौं । ‘बाहुनहरुको पार्टी’ भन्दै अशोक राईसहितका नेताहरुले नेकपा एमाले छाडेर बनाएको संघीय समाजवादी पार्टीले चुनावमा अपेक्षा गरेजस्तो परिणम ल्याउन सकेन । चुनावमा एमालेलाई अशोकलाई धेरै ठाउँ हराउँछ भन्ने धेरैको अनुमान विपरित संघीय समादवादीले प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने समानुपातिकको ५ सिटमा सिमित भएको छ ।

Yagyaraj-Sunuwarएमाले भने १ सय ७५ सिटका साथ संविधानसभाको दोस्रो ठूलो पार्टी बनेको छ । पार्टी फुटका बीच एमाले ओखलढुंगा जिल्ला अध्यक्ष यज्ञराज सुनुवार ओखलढुंगा १ मा विजयी हुनु भएको छ । आदिवासी जनजातिको बाक्लो बसोबास रहेको ओखलढुंगा १ मा नेपाल कम्यूनिष्ट पार्टी स्थापना भएको ०६४ वर्षपछि एमालेले जित हात पारेको हो ।

एमालेबाट बाहरिएकाहरुले पक्की घर छाडेर ओढारमा बस्न गएको बताउँदै अध्यक्ष सुनुवारले पार्टी छाडेका नेताहरुलाई एमालेमा र्फकन अपील गर्नु भएको छ ।

जिल्लाकै इतिहासमा पहिलो पटक ओखलढुंगामा सबैभन्दा निष्पक्ष निर्वाचन भएकाले एमालेले चौतर्फी चुनौतिहरुलाई हटाउँदै जित निकाल्न सकेको हो । हाम्रो जितको प्रमुख आधार नै सबै जातजातिहरुलाई सम्मान गर्ने बहुपहिचानको नारा हो ।

पहिलो संविधानसभाले संविधान नै नबनाई खारेज भएकाले दोस्रो संविधानसभा नेपाली जनताको अन्तिम परिक्षण हो । यो पटक संविधान दिन सकिएन सबैका अधिकार गुम्ने अवस्था छ ।

एमालेले यो पटक दुईवटा अतिवादी शक्तिहरुलाई धुलो चटाउँदै जित निकालेको छ । एमालेलाई चुनौति दिने एकातिर धर्मका नाममा नारा लगाउने एउटा अतिवादी शक्ति छ भने अर्कातिर कम्युनिष्टको नाममा उग्रवामपन्थीहरुको समूह पनि छ । यी दुवै समूहलाई यो पटकको निर्वाचनमा जनताले गतिलो पाठ सिकाएका छन् ।

निर्वाचनका लागि एमालेको एजेन्डा लिएर गाउँ पस्दा हामीमाथि विभिन्न आक्षेप लगाइयो । जातीय पहिचानविरोधी भनेर हाम्रा चुनावी कार्यक्रममा पनि बाधा गर्ने प्रयास भयो ।

जातीय हिसावमा संवेदनशील हाम्रो मुलुकमा एमालेले यो पटकको चुनावमा सबै जातजातिको हितका लागि बहुपहिचानसहितको एजेन्डा लिएर गएकाले एमाले सबै जातिको साझा पार्टी बन्न सकेको हो ।

नेपालमा रहेका सय भन्दा बढी जातजातिले समाज विकासका क्रममा राज्यपक्षबाट उपेक्षित र अपहेलित हुनुपरेको कुरा कुनै अवस्थामा पनि छिपाउन सकिन्न । तर एउटा जातिलाई अधिकार दिने नाममा सँगै रहेको अर्को जातिमाथि अन्याय गरेर जाने हो भने भोलि त्यसले अर्को समस्या ल्याउन सक्छ । त्यसैले अहिले केही समूहले उठाइरहेका अतिवाद मिसिएका कुराले समाजमा विखण्डन ल्याउने मात्र काम गर्न सक्छ ।

आजको २१ औं शताव्दीमा आएर एउटा जातिको अधिकारका लागि अरु सबै जातिको अधिकार खोस्ने कुरा हास्यास्पद हुन्छ । अहिलेका केही जातीय र क्षेत्रीय पार्टीले जनताको चेतनासँग खेलवाड गर्ने कुचेष्टा गर्दैछन् । उनीहरुको यो हर्कतले अर्को चुनावसम्ममा उनीहरुलाई लेन्स लगाएर खोज्न अवस्था आउनेछ ।

धाँदलीको आरोप हारपछिको रुवाई

दोस्रो संविधानसभाको चुनावलाई धाँदलीमुक्त बनाउन भन्दै एमाओवादीले नै चुनावी सरकारको नेतृत्व प्रधानन्याधीशलाई दिन प्रस्ताव गरेको हो । उसले केन्द्रीय कमिटिको बैठकबाट होइन, हेटौंडा महाधिवेशनबाट चुनावी सरकारको नेतृत्व प्रधानन्याधीशलाई दिनुपर्ने प्रस्ताव गरेको थियो ।

खिलराज रेग्मीलाई सत्ता हस्तानरण गर्ने प्रस्ताव एमाओवादीले गरेपछि एमाले र कांग्रेसले विरोध गरेका थिए । अर्कातिर नेपाली सेनालाई व्यारेकबाट निकाल्ने प्रस्ताव पनि एमाओवादीले नै गरेको हो । एमाओवादीकै प्रस्तावमा खिलराज रेग्मी नेतृत्वको सरकारले चुनाव सम्पन्न गराएपछि शान्निपूर्ण र भव्यतापूर्वक चुनाव सफल भएको विज्ञप्ति सबै भन्दा पहिले निकाल्ने पनि एमाओवादीकै नेताहरु थिए ।

मतपेटिका नखोलुन्जेल चुनाव सफल भएको देख्नेहरु मतपत्रको भोट जति सूर्य र रुखमा लागेको देखेपछि भने धाँदली भएको भन्दै कुर्लिन थाले । एमाओवादी र अन्य जातीय पार्टीका एजेन्डालाई नै जनताले नै अस्वीकार गरेपछि हार्नेहरुले धाँदली देख्न थालेका हुन् ।

अहिले एमाओवादी र संघीय समाजवादीसहितका १५ दल कराउनु भनेको ‘हरुवा गोरुको छेरुवा दाउ’ भने जस्तै हो । चुनावमा धाँदली भएको देख्नेहरुसँग अब जनादेशलाई स्वीकार्ने बाहेक अर्को विकल्प छैन । चुनावमा पराजय भोगेको एक महिना पनि भइनसकेकाले १६ दलले अहिले हारेको पीडा पोखिरहेका छन् । उनीहरुसँग चुनावी परिणामलाई स्वीकार्ने बाहेक अर्को विकल्प मैले देखेको छैन ।

ओढारमा गएकाहरु पक्की घरमा फर्क

संघीय समाजवादीले चुनावमा धाँदली भएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिनु व्यर्थ छ । पक्की घर हुँदाहुँदै यो ठीक भएन भनेर ओढार गए बस्नेहरुले यो चुनावमा जनताबाट बहिष्कृत हुनपरेको हो ।

नेकपा एमालेको राजनीतिक प्रस्तावनाकै आधारमा सबै जातजातिको हित हुने कुरा उनीहरुले बुझ्न सकेनन् । पक्की घरका कम्जोरी सुधार र हेरफेर गर्न छोडेर ओढारलाई ठीक भन्नेहरुले जनतालाई पनि घर भत्काएर ओढारमा बस भनिरहेका छन् । एमालको पक्की घर छोडेर संघीय समाजवादीको ओढारमा बस्नेहरुलाई अझै पनि घर र्फकने अवसर छ ।

नेपाली समाजमा वर्षौंदेखि जातीय, क्षेत्रीय, लिङ्गीय र वर्गीय भेदभाव विद्यमान रहेको कुरालाई कसैले नकार्न सक्दैन । तर, समस्या छ भन्दैमा घर छोडेर ओढारतिर जानु भनेको मुर्खता बाहेक केही हुनसक्दैन ।

एमालेको पक्की घर छोडेर ओढारमा बस्न गएका संघीय समाजवादीका साथीहरुलाई घर र्फकनका लागि हामीले अहिले पनि ढोका खुल्ला गरेका छौं । ओढारमा बसेर गरिने ढुंगे युगको अभ्यासले २१ औं शताव्दीको मानवीय सभ्यतालाई पछि धकेल्नेमात्र काम गर्छ । त्यसैले एमालेको पक्की घरमा बसेर क्रान्तिको मोर्चा सम्हाल्दै अघि बढ्न उहाँहरु सुध्रेर आउनु जरुरी छ ।